यो साता तपाईको राशी

मेष राशी–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिवेश रमाइलो देखिए पनि साता खर्चिलो रहनेछ। स्वास्थ्य कमजोर रहनेछ भने अध्ययनमा त्यति समय दिन नसकिएला। सोमवारदेखि अरूको मुख ताक्नुपर्ने स्थिति आउन सक्छ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। धेरै समय अरूका काममा जुट्नुपर्ला। बीचमा परिस्थितिसँग संघर्ष गर्नुपरे पनि बिहीवारपछिको समय उत्साहवर्धक रहनेछ। दिगो काम सुरु हुनेछ भने कर्मयोगले कीर्तिमानी दिलाउनेछ। सहयोगीहरू जुट्नेछन् भने मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।
वृष राशी-इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुरुमा चुनौती पन्छाएर काम बनाउन सकिनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। मुद्दा र प्रतिस्पर्धामा आफ्नो पक्ष बलियो रहनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। रमाइलो यात्रा र प्रियजनसँग भेटघाट गर्ने साइत जुर्नेछ। बिहीवारदेखि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पर्नेछ। अवसरवादीहरूले सताउने हुँदा सावधान रहनुहोला।अरूका लागि श्रम र धन खर्च गर्नुपर्ला। काम दोहोर्याउनुपर्ने स्थिति आउला। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्नेछ।
मिथुन राशी-का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउला। बलजफ्ती गर्ने बानीले काम बिग्रनेछ भने अर्थ अभावले पनि समस्या उत्पन्न हुनेछ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । ईर्ष्या गर्नेहरूबाट जोगिएर काम गर्नुहोला। बुधवारदेखि व्यापार र उद्योगमा फाइदा हुनेछ। स्रोत–साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। खर्च लागे पनि व्यवसायका लागि रमाइलो यात्राको साइत जुर्न सक्छ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारीले समस्या निम्त्याउनेछ। अरूलाई दिएको वचन पूरा नहुन सक्छ।
कर्कट राशी- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समस्या पर्दा सुरुमा आफ्नाबाटै सहयोग नजुट्न सक्छ। बलजफ्ती गर्ने बानीले साथीभाइसँग मतभेद पैदा गर्नेछ। साझेदारीमा विवाद उत्पन्न हुनेछ। तापनि बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। प्रयत्न गर्दा गुरुजन, सन्तान र अनुयायीले साथ दिनेछन्। पहिले टाढिएका साथीभाइ नजिकिन सक्छन्। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। पहिले प्रतिस्पर्धा गर्नेहरू नै सहयोग गर्न जुट्नेछन्। सप्ताहान्तमा दिगो फाइदा हुने काम गर्न सफल भइनेछ।
सिंह राशी-मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेतले सफलता र हिम्मत दिलाउनेछ। सुरुमा पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। सोमवारदेखि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। परिस्थिति कमजोर देखिए पनि केही काम बन्नेछन्। तर आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउलान्। परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ। समय दिन नसकिए पनि अध्ययनमा प्रगति हुनेछ। सप्ताहान्तमा भने परिस्थिति केही खर्चिलो बन्न सक्छ ।
कन्या राशी-टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा केही अवसर प्राप्त भए पनि साता उतारचढावमय नै रहनेछ। लगानी अभावले उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनेछन्। घरेलु समस्याले पनि सताउन सक्छ। अध्ययनमा समय दिन नसक्दा पछि परिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। दीर्घकालीन योजनाहरू भए गोप्य राख्नुहोला। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अरूको भर पर्दा पटकपटक धोका पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।
तुला राशी-र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले काम लिँदा लक्ष्यमा पुगिनेछ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। आइतवार, बिहीवार र शुक्रवार आँटेका काम सम्पादन हुनेछन्। बाँकी दिन भने परिस्थिति केही असहज बन्ने हुँदा सजग रहनुहोला। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आत्मसम्मानका लागि मौन रहनु बेस हुनेछ। भौतिक साधनको कमीले व्यवहारमा अप्ठ्यारो पर्न सक्छ। सप्ताहान्तमा चिताएको काम सजिलै सम्पादन गर्न सकिनेछ।
वृश्चिक राशी-तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै आफन्तसँग सम्पर्क बढ्नाले मनमा आनन्द मिल्नेछ। मिहिनेतले मान–सम्मान पनि दिलाउनेछ। तर नयाँ काममा हात हाल्न केही अवरोध आउन सक्छन्। काममा सोचेको प्रतिफल प्राप्त नहुन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। सप्ताहान्तमा अग्रजहरूको सहयोग जुट्नाले काम बन्नेछ। विशेष जिम्मेवारी पनि प्राप्त हुन सक्छ।
धनु राशी-ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। खर्चिलो काम आँट्नाले बीचमा अर्थअभाव भने देखापर्नेछ। सरसापटमा धन बाहिरिन सक्छ। अधुरो काम पूरा गर्नलाई पनि खर्च बढ्नेछ। तापनि लगानीद्वारा भविष्यको मार्गचित्र कोर्ने समय छ। बिहीवारदेखि आफन्तको साथ जुट्नाले स्थितिमा सुधार आउनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। असावधानीले आम्दानीमा बाधा पुर्याउन सक्छ।
मकर राशी-भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिष्ठित काम गर्दै समाजमा स्थापित हुने काम गर्न सकिनेछ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्ने समय छ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। पेसा र व्यापारमा मनग्गे लाभ हुनेछ। बिहीवार र शुक्रवार लाभांश अरूका लागि खर्चनुपर्ने हुन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थअभाव समेत देखापर्नेछ। बलजफ्ती गर्दा काम बिग्रनेछ। सप्ताहान्तमा भने स्वास्थ्य पनि कमजोर बन्न सक्छ। मिहिनेत गर्दा काम भने सम्पादन हुनेछन्।
कुम्भ राशी- गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा कामको चाप देखिए पनि मिहिनेतले उपलब्धि दिलाउनेछ। धर्मकर्म र समाजसेवामा प्रवृत्त भइनेछ। सोमवारदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पदासीन व्यक्तिसँग असमझदारी बढ्नाले सरकारी काममा बाधा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। बुधवार र बिहीवार श्रमको उचित मूल्यांकन हुनाले मनग्गे धनलाभ हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सप्ताहान्तमा उतारचढाव र आकस्मिक खर्च बढ्नाले कर्जा लिनुपर्ने हुन सक्छ।
मीन राशी-दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रारम्भमा अस्वस्थताका बाबजुद कामको चाप बढ्नेछ। ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै विविध समस्या समाधान हुनेछन्। लगनशीलताले पहिलेको स्थितिमा सुधार ल्याउन सकिनेछ। बुधवारदेखि कर्मगतिले उचाइको मार्ग अवलम्बन गर्नेछ। कर्मयोगले राम्रो उपलब्धि दिलाउनेछ। विशेष जिम्मेवारी प्राप्त हुनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। नाम, दाम र इनाम प्राप्त हुनेछ। (नेपाली पात्रोबाट)