विपदबाट विस्थापति नागरिकलाई ६ महिनाभित्रमा पुनःस्थापित गर्न संसदिय समितिको निर्देशन

राज्य व्यवस्था तथा सुशासन समितिले विपदबाट विस्थापति नागरिकको पुन: स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ ।शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विपद्जन्य घटनाका कारण विस्थापित भएका सबै नागरिकलाई ६ महिनाभित्रमा पुनःस्थापित गर्न निर्देशन दिएको हो ।
समितिले तत्काल अस्थायी आवास तथा खाद्यसामग्रीको व्यवस्था गर्दै भौगर्भिक अध्ययन तथा भूउपयोग नीतिअनुसार पुनर्वासको मिलाउन निर्देशन दिएको हो । समितिका सभापति शशी श्रेष्ठले सकेसम्म एकीकृत वस्ती निर्माण गरी पुनःस्थापित गर्न र विपद्को क्षति न्यूनीकरणका लागि आवश्यक तयारी गर्न गृहमन्त्रीमार्फत सरकारलाई निर्देशन दिएको जानकारी दिइन् ।
पहिरोपूर्व सूचना प्रणालीलाई व्यवस्थित बनाउँदै क्षति न्यूनीकरणका सवालमा गम्भीर हुन आग्रह गर्दै मुलुकभर भइरहेका बलात्कार, हत्या, हिंसाजस्ता अपराध रोक्नका समेत निर्देशन दिएको छ ।
समिति बैठकमा सहभागी गृमन्त्री रामबहादुर थापाले सवै निकायसँगको समन्वयमा आवश्यक वस्तु र सेवा सहज उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।